काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा महाधिवेशन प्रतिनिधि चयनका क्रममा निर्वाचन प्रक्रिया पूरा नगरी सहमति गरिएको भन्दै उजुरी परेको छ। निर्वाचन प्रक्रियाबिना आफूखुसी सहमति गरिएको भन्दै असन्तुष्ट उम्मेदवारहरूले कांग्रेस केन्द्रीय निर्वाचन समिति, सानेपामा उजुरी दर्ता गराएका हुन्।
२५ जना उम्मेदवारको हस्ताक्षरसहित दर्ता गरिएको उजुरीमा निर्वाचन प्रक्रिया अघि बढाउन माग गरिएको छ। उम्मेदवारहरूको अन्तिम नामावलीसमेत प्रकाशन नगरी केही व्यक्तिले आफूखुसी सहमति घोषणा गरेर निर्वाचन प्रक्रियालाई प्रभावित पारेको आरोप उजुरीमा लगाइएको छ। उनीहरूले सहमतिका नाममा गरिएको उक्त प्रक्रिया रोक्दै निर्धारित विधिअनुसार निर्वाचन गराउन निर्वाचन समितिसमक्ष माग गरेका छन्।
पत्रमा भनिएको छ, ‘कोही कसै उम्मेदवारसँग सम्पर्क नगरी असोज १३ गते साँझ ६ बजे एक तथाकथित भ्रामक सूचनाद्वारा सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्ने विद्युतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएकाले उक्त सूचनालाई आधार मानी पार्टीको विधान, निर्वाचन परिचालन ऐन र अन्य प्रचलित कानूनको आधारमा बदरभागी हुने हुनाले बाँकी निर्वाचन प्रक्रिया सुचारु गराउन माग गर्दैर्छौँ।’
