ईटहरी । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए।
सभामुख अर्यालले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए।
बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ थियो। सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे।
उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेका, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका तथा रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको उनले जानकारी दिए। यस्तै, सभामुख अर्यालले स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीचको तालमेल आवश्यक रहेको बताए। साथै, ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फको महत्वपूर्ण पहल भएको बताए। असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन ९एसी० मर्मत र बारिस्तालगायत १० वटा विषयमा पूर्णतः निःशुल्क तथा छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ। यसका साथै ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
