काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरिबलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।
प्रचण्डले श्रमजीवी वर्गमाथि सबैभन्दो ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने वेला आएको बताए। उनले कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले उक्त काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको बताए।
प्रचण्डले भने‚ ‘अहिले सरकारका तर्फबाट गरिब र निमुखामाथि सबैभन्दा बढी आहत, पीडा दिने कोसिस भएको छ। हामीले यो बीचमा वैचारिक ढंगले र आफ्नो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ।’ प्रचण्डले नेपाली जनताले नेपालमा कम्युनिष्ट पार्टीहरूमाथि भरोसा गरिरहेको जिकिर पनि गरे।
