काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन आग्रह गर्दै संवैधानिक परिषद्को निर्णय पूर्णतः कानुनी रहेको दाबी गरेका छन्। आइतबार रास्वपा सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले यो प्रक्रिया कसरी असंवैधानिक भयो भनी प्रश्न समेत गरे। सभापति लामिछानेले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने अनिवार्य व्यवस्था संविधानमा नरहेको जिकिर गरे।
उनले सिफारिस प्रक्रियाको बचाउ गर्दै भने, ‘एकजना कसैले भन्दिनुस्, यो कसरी असंवैधानिक भयो रु यदि असंवैधानिक थियो भने ६ जना न्यायाधीशलाई प्रधानन्यायाधीश बन्न योग्य भनेर संवैधानिक परिषद्मा किन सिफारिस गरिएको रु त्यसो भए त त्यही सिफारिस नै असंवैधानिक हुनुपर्ने हो।’ सम्बोधनका क्रममा लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले शनिबार कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै चुनौती दिए। ‘यसलाई हाँसोको विषय नबनाइयोस्।
६ जनामध्ये ४ जनाले भोटिङ गरेर चुन्नुभएको विषय कसरी असंवैधानिक भयो रु बुझिनँ मैले, बुझाइदेऊ कसैले,’ उनले थपे, ‘यदि विधि गलत हो भने संविधान संशोधनमा बहस गरौँ। तर, विधिअनुसार चल्दा पनि प्रहार गरिन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार।’ उनले भागबन्डाको राजनीति अन्त्य गर्न खोज्दा आफूमाथि प्रहार भएको समेत दाबी गरे। सभापति लामिछानेले भूमिहीन सुकुम्बासीको समस्या समाधानमा रास्वपा दृढ रहेको बताउँदै वास्तविक पीडितलाई अधिकार दिलाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
विगतमा सुकुम्बासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको बताउँदै उनले भने, ‘हामी उहाँहरूलाई अधिकार दिलाउँछौं। अधिकार नजिलाएसम्म मेरो छाती हट्नेवाला छैन। नदी किनारा र सार्वजनिक जग्गा हडप्नेबाहेकका वास्तविक भूमिहीनको हकमा म छाती थाप्न तयार छु।’ पार्टीको आन्तरिक अनुशासनका विषयमा बोल्दै लामिछानेले सांसदहरूलाई ‘रवि कि बालेन’ को कित्ताकाटमा नलाग्न निर्देशन दिए।
कतिपय सांसदहरूले यस्तो दोधारे चरित्र देखाएकै कारण मन्त्री बन्ने अवसर गुमाएको सुनाउँदै उनले भने, ‘पार्टीको लाइनभन्दा बाहिर गएर कुनै झुण्डमा विश्वास नगर्नुहोला। म यताको कि उताको भनेर झुक्किए अर्को पटक टिकट पनि पाइने छैन।’ उनले आफू र प्रधानमन्त्री बीचको सम्बन्ध सुमधुर रहेको र बाहिरका हल्लालाई आफूहरूले हाँसेर टार्ने गरेको समेत उल्लेख गरे।
