खजुरा। बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर बनाइएका घरटहरामा डोजर चलाएको छ । नगरपालिकाले शनिबार उक्त क्षेत्रमा पर्ने नगर विकास समितिको कोहलपुर ३ ९ख०अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल जमिन ९क्रिकेट मैदान आसपास०मा अतिक्रमण गरि निर्माण गरिएका घरटहराहरु डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले शनिबारदेखि उक्त क्षेत्रमा डोजर लगाएर अतिक्रमण गरि बनाइएका घरटहराहरु भत्काउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले शनिबार दुई वटा डोजरमार्फत अतिक्रमण गरि बनाइएका ४० वटा घरटहराहरु भत्काइएको बताउनुभयो । “नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम दिएर अतिक्रमित क्षेत्रबाट नागरिकहरुलाई आफैँ हट्न अनुरोध गरेको थियो, अनुरोधअनुसार त्यहाँबाट नागरिकहरु सर्ने क्रम जारी छ ।” थापाले भन्नुभयो, “सरसामान लगेर खाली गराइएका घरटहराहरुमा डोजर चलाएका हौँ, सामान निकाल्ने क्रम जारी छ, भोलि ६र७ वटा डोजरमार्फत खाली भएका संरचना भत्याउने योजना छ ।”
नगरपालिकाले डोजर चलाउनुका साथसाथै उक्त स्थानका नागरिकहरुका लागि अस्थायी बसोबासका लागि होल्डिङ सेन्टरको समेत व्यवस्थापन गरेको जनाएको छ । हालसम्म नगरपालिकाको सम्पर्कमा ७३ घर वास्तविक भूमिहीन सुकुम्वासीहरु आएको र उनीहरुको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।त्यसैगरी वर्षौँदेखि सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरि बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया पनि नगरपालिकाले सुरु गरेको छ ।
गतवर्ष उक्त स्थानका ७ सय ५१ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित १ सय ५३ जना र भूमिहीन सुकुम्वासी १ सय ४१ जना रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतबाट वैशाख २५ गते जारी भएको सुकुम्वासी बस्तीसम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जमिनको हकमा लागू नहुने भएकाले कुनै भ्रममा नपरी बाँकी रहेका घरटहराहरु तत्काल खाली गर्न पनि आग्रह गरेको छ ।
