सिन्धुपाल्चोक । आज बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि रोकिएको जनाएको हो । प्रहरीले बिहीबार दिउँसो सवा १ बजे ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा यातायात सञ्चालन बन्द गरिएको जानकारी दिएको छ ।
यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको थियो । तीन दिनदेखि अवरुद्ध रहेको राजमार्ग बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन मार्फत सञ्चालनमा ल्याइए पनि पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण पुनः बन्द गरिएको प्रहरीले जनाएको छ । रोशी खोलामा सामान्य बाढी आउँदा समेत डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ । अस्थायी रूपमा बनाइएको सडक खोलाको बहावमै परेकाले सानो बाढी आउँदा पनि यातायात प्रभावित हुने गरेको छ ।
प्रहरीले मौसमको अवस्था र सम्भावित बाढीलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ । स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरी पुनः यातायात सञ्चालनको जानकारी गराइने जिल्ला प्रहरी कार्यालय काभ्रेले उल्लेख गरेको छ । बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो । दैनिक सयौँ सार्वजनिक तथा निजी सवारी सञ्चालन हुने यस सडकमा बाढी, पहिरो र कटानका कारण पटक–पटक समस्या उत्पन्न हुँदै आएको छ ।
विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ । गत वर्ष बाढीले बगाएको सडक मर्मत कार्य पूरा नभएकाले समस्या अझै कायम रहेको छ । राजमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । लामो दूरीका सार्वजनिक यातायात, मालवाहक तथा निजी सवारी काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएका छन् । प्रहरीले अत्यावश्यक बाहेकका यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
