काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नगरी जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु नै आजको साझा दायित्व भएको बताएका छन्। २०औँ लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
अपेक्षा र उपलब्धिबिचको दूरी घटाउन नसकिएको गुनासो आइरहेको स्वीकार गर्दै उनले भनेका छन्, ‘तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो।’ उनले जनअधिकार र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।
उनले संविधानको मर्मलाई व्यवहारमा उतार्न सुशासन र विकास नै प्रमुख आधार भएको उल्लेख गरेका छन्। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही ऐतिहासिक दिन र जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।
