काठमाडौँ । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् ।
मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । उनले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताए । मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची छन् । प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूचीले प्राथमिकता पाउने भएको छ।
प्रतिनिधि सभा नियमावली समितिले सभामुख डिपी अर्याललाई बुझाएको प्रतिवेदनमा अब प्रत्येक शुक्रबार प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरु दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउने उल्लेख गरिएको छ। तर कुनै कारणवश शुक्रबारको दिन बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को कार्यदिन तोक्न सक्ने उल्लेख गरिएको छ।
