काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले आक्रान्त बनेको नेपाललाई विश्व समुदायले न्याय दिनुपर्ने बताएका छन्। बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली कांग्रेस, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक विपत्तिप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै नेपालले जलवायु न्याय पाउनुपर्ने बताए।
‘अहिलेको समयमा जलवायु परिवर्तनको असरबाट नेपाल आक्रान्त छ। यसको असरले नेपालमा मात्र होइन, विश्वभर नै विपत्तिको शृङ्खला निम्त्याइरहेको छ। तर, नेपालजस्ता मुलुकहरूले यसको मार बढी भोग्नुपरेको छ,’ देउवाले भने, ‘जलवायु परिवर्तनको असर कम गर्न र प्राकृतिक विपत्तिबाट नागरिकको सुरक्षा गर्न नेपालले आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछ, तर विश्व समुदायको साथ र सहयोग अनिवार्य छ।’
जलवायु परिवर्तनको मुद्दा कुनै एक देशको मात्र नभई विश्वव्यापी मुद्दा भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय स्तरबाटै ठोस पहल हुनुपर्ने उनको भनाइ छ। ‘नेपालले जलवायु सङ्कटको मार भोग्नुपर्दा यहाँका धेरै मानिसले ज्यान गुमाएका छन्, भौतिक संरचना नष्ट भएका छन्। यसका लागि विश्व समुदायले नेपाललाई न्याय दिनुपर्छ,’ देउवाले भने। उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न पनि सम्बन्धित राष्ट्रहरूलाई आग्रह गरे। विपद्को यो कठिन समयमा दलगत स्वार्थभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा लाग्न उनले सबैलाई आह्वान गरे।
‘यस्तो विपत्तिको घडीमा हामी सबै एकजुट हुनुपर्छ। सरकार र सबै राजनीतिक दलहरूले मिलेर काम गरे मात्र पीडित नागरिकले राहत पाउन सक्छन् र भविष्यमा यस्ता विपत्ति आउन नदिन बलियो संरचना निर्माण गर्न सकिन्छ,’ देउवाले भने। विपद् व्यवस्थापनमा सरकारको भूमिका अझै सशक्त हुनुपर्ने र स्थानीय तहदेखि नै पूर्व तयारीका कार्यहरूलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
