काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) की सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सरकारसमक्ष दुई महत्वपूर्ण प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलनका सहिदले न्याय कहिले पाउने र सहिद तथा घाइतेका परिवारलाई भेट्न सरकारलाई अझै कति समय लाग्ने भन्ने प्रश्न गरेकी हुन्।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीले लामो समयपछि सामाजिक सञ्जालमार्फत मात्र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताइन्। ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। देशले सहिद पायो, एक दिन बिदा पनि पायो। बिहान ७ बजेदेखि निमन्त्रणा दिएर आउनुस्, केही बोलिदिनुस्, जेनजी सहिदका नाममा केही लेखिदिनुस् भनेर आग्रह गर्यौँ।
तर बेलुकी ७ बजे आएर स्टाटस त आयो, अन्ततः एक वर्षपछि सहिदलाई श्रद्धाञ्जली,’ उनले प्रधानमन्त्री शाहतर्फ संकेत गर्दै भनिन्। उनले सरकारसँग स्पष्ट जवाफ माग्दै थपिन्, ‘अब म यो सरकारलाई दुई वटा प्रश्न सोध्न चाहन्छु– सहिदले न्याय कति वर्षमा पाउँछन् सरकाररु सहिद परिवार र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छरु’ सांसद खतिवडा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा समेत हुन्।
