काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सचेतक क्रान्तिशिखा धितालले युट्युबलगायत मिडिया प्लेटफर्ममा देखिएका केही प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै प्रश्न गर्ने शैली र सामग्रीमा सुधार गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति सधैँ सम्मान रहेको उल्लेख गरेकी छन् ।
तर, वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण मोडमा केही व्यवहारहरूबारे खुलेर बोल्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ छ । धितालले विशेषगरी महिला नेतृ तथा युवतीहरूसँग अन्तर्वार्ता लिँदा राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनुभएको छ, जस्ता टिप्पणीबाट संवाद शुरू गर्ने प्रवृत्तिको आलोचना गरिन् । यस्तो अभ्यासले महिलालाई विषयवस्तुभन्दा बाह्य रूपमै सीमित गर्ने र बहसको स्तर घटाउने उनको विश्लेषण छ ।
उनका अनुसार समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि भइरहेका प्रयासलाई यस्ता भाषाले कमजोर बनाउँछ । ुमाइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन, उनले उल्लेख गरेकी छन् । धितालले मिडियालाई अझ बौद्धिक र गहिरा प्रश्न उठाउन आग्रह गर्दै मूलधारका मिडिया र युट्युबजस्ता वैकल्पिक प्लेटफर्मबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै निर्धारण हुने बताइन् । आवश्यक परे नयाँ माध्यमबाट पनि सिक्नुपर्ने उनको सुझाव छ ।
साथै, उनले सामाजिक सञ्जालमा महिलाको प्रस्तुति, हिँडाइ वा हाँसो समेत वस्तुकरण गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता अभ्यासले समाजमा गलत संस्कार बलियो बनाउने चेतावनी दिएकी छन् । धितालले मिडियालाई सूचना दिने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्तिका रूपमा जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।
