काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ। दलको नेता चयनका लागि निर्वाचन समितिले आज सबै सांसदहरूलाई छलफलको लागि बोलाइएको छ ।
आज दिउँसो ३ बजेका दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए। दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।
कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी गरेको छ। मुख्य दाबेदार केसी सभापति गगन थापाका ससुरा हुन्, उनले अडान नछाडेपनि उपसभापति विश्वप्रकाश शर्माले अब विश्राम लिन सार्वजनिक रूपमै आग्रह गरिसकेका छन् ।
अर्का दाबेदार आङ्देम्बेले पार्टीभित्र दलको नेताको विषयमा छलफल भइरहेको बताए। उनले भने, पार्टीको बैठक आज बस्दै छ, छलफलपछि निष्कर्षमा पुग्छौँ ।
पूर्वसभापति शेरबहादुर देउवानिकट मानिएका आङ्देम्बे पछिल्लो समय सभापति थापाको पक्षमा खुलेका छन् । मुख्य दाबेदार दुवै नेताहरू समानुपातिकतर्फबाट आएका हुन्। कांग्रेसमा प्रत्यक्ष निर्वाचित र युवा अनुहारलाई दलको नेतामा ल्याउन पनि दबाब छ ।
