काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको बताएका छन् । मोरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँग कुराकानी गर्दैर् मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको खुलाएका हुन् ।
मोरिससबाट खनालले भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको समेत बताए । ‘प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ,’ उनले भने, ‘दुवैतर्फबाट प्राविधिक र राजनीतिक तहमा तयारी पूरा भएपछि मात्र भ्रमण हुनेछ, ताकि यसले ठोस नतिजा दिन सकोस् ।’ द्विपक्षीय संयन्त्रमा छलफल गरेर उपयुक्त हुने गरी भ्रमणको मिति तय गरिने मन्त्री खनालले बताए । दुवै पक्षले भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन त्यहाँ पुगेका हुन्
। परराष्ट्रका एक अधिकारीका अनुसार यस पटकको उच्चस्तरीय भ्रमणलाई औपचारिकतामा सीमित नराख्ने स्पष्ट उद्देश्य छ । काठमाडौं र नयाँदिल्ली दुवै पक्षले ठोस उपलब्धि सुनिश्चित गर्न काम गरिरहेको उनको भनाइ छ । खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार भएको आईओसीको साइडलाइन भेटवार्तामा नेपालका प्राथमिकता अनुसार परियोजना र कार्यक्रम तय गरेपछि मात्र भ्रमण तय गर्ने सहमति भएको छ । ‘दुवै देशले तय गरेका प्राथमिकतामा केन्द्रित हुँदै द्विपक्षीय सबै संयन्त्र सक्रिय बनाउने र नयाँ सहकार्यका क्षेत्र खोज्ने सहमति भएको छ,’ मन्त्री खनालले भने । उनले काठमाडौंले स्पष्ट मार्गचित्र र प्राथमिकता तय गरेपछि त्यसलाई भारतीय पक्षसँग छलफल गरिने बताए ।
खनाल र जयशंकरबीच भएको वार्तामा जारी परियोजना तथा कार्यक्रमका औचित्य समीक्षा गर्ने र नयाँ सहकार्यका क्षेत्र खोज्ने सहमति पनि भएको छ । त्यसपछि नेपालले थप वार्ताका लागि भारतलाई परराष्ट्र सचिव पठाउन औपचारिक अनुरोध गर्नेछ । काठमाडौंले आन्तरिक तयारी पूरा गरेपछि अर्को चरणको वार्ताबारे भारतीय पक्षलाई जानकारी गराइनेछ, त्यसपछि भारतीय परराष्ट्र सचिव नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच सुरक्षा, जलस्रोत, सिँचाइ, सीमा व्यवस्थापन, सीमासम्बन्धी विषय, व्यापार, वाणिज्य र कृषिलगायतका क्षेत्रमा जिल्ला तहदेखि परराष्ट्रमन्त्री तहसम्म करिब तीन दर्जन संयन्त्र छन् । केही संयन्त्रका बैठक नियमित रूपमा बस्छन् भने केही वर्षौंदेखि निष्क्रिय छन् । यसैगरी, भारतको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा दर्जनौं परियोजना र कार्यक्रम कार्यान्वयनको विभिन्न चरणमा छन् ।
त्यस्तै, शाहले १३ चैतमा प्रधानमन्त्री पदको शपथ लिएपछि मोदीले बधाई दिँदै उनको नियुक्तिले नेपाली जनताको नेतृत्वप्रतिको विश्वास झल्काएको बताएका थिए । ‘हामी दुवै देशका जनताको पारस्परिक हितका लागि नेपाल–भारत मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,’ मोदीले आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत बताएका थिए । खनालले अन्तर्वार्तामा नेपालको परराष्ट्र नीतिमा निरन्तरता रहने तर त्यसलाई राष्ट्रिय हितसँग मजबुत रूपमा जोडिने बताए । ‘नयाँ भन्नाले निरन्तरताको अन्त्य होइन, हाम्रो मूल मूल्य उस्तै रहन्छ, छिमेकी र साझेदारसँगको सम्बन्ध राष्ट्रिय हितसँग जोडिनेछ,’ उनले भने ।
