काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइ देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारेको हो।
सरकारले हप्तामा दुई दिन ९शनिबार र आइतबार० सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले अस्पतालहरूलाई कार्यबोझ हेरेर आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो। मन्त्रालयको उक्त अनुरोधप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साविककै कर्मचारीबाट अतिरिक्त सेवा दिन सम्भव नभएको संघको ठहर छ। चिकित्सक र स्वास्थ्यकर्मीहरू १०–४ को डिउटी बाहेक पनि अनकल, राउण्ड र इमर्जेन्सी लगायतका सेवामा चौबीसै घण्टा खटिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।
फरक–फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल तथा झन्झट सिर्जना भई स्वास्थ्य सेवामै असर पुग्ने संघको दाबी छ। इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपिडी समय बढाएर थप इन्धन खर्च गर्नु अव्यवहारिक भएको समेत संघले जनाएको छ। संघले मन्त्रालयलाई आफ्नो अनुरोध फिर्ता लिई उचित निर्णय गर्न जोडदार माग गरेको छ। न्यूनतम सेवा सुविधा पनि नदिई जबरजस्ती काममा खटाउन खोजिए चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार मन्त्रालय स्वयं हुनुपर्ने चेतावनी समेत संघले दिएको छ।
