काठमाण्डौं । सभामुख डोल प्रसाद ( डीपी ) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई निश्चित समयसीमा तोकेर तत्काल अगाडि बढाउन निर्देशन दिएका छन्। बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँगको छलफलमा सभामुख अर्यालले आयोजनामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका हुन्।
विद्युत् उत्पादनबाहेक पर्यटन, कृषि र रोजगारी प्रवद्र्धनसँग जोडिएको यो परियोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो। यो समग्र राष्ट्रिय महत्वको विषय हो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन,’ सभामुख अर्यालले भने, ‘स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्।’
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन र सरकारीस्तरमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले पूर्ण समन्वय गर्ने प्रतिबद्धता जनाए। यसैबीच, सभामुख अर्याल र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा। डानियल मेउल्लीबीच बिहीबार नै शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक सम्बन्ध, संसदीय सहकार्य तथा आर्थिक सहयोगका विविध विषयमा छलफल भएको संसद् सचिवालयले जनाएको छ।
सभामुख अर्यालले सन् १९५६ देखि कायम द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै स्विट्जरल्याण्डको सहभागितामूलक लोकतन्त्र नेपालका लागि उदाहरणीय रहेको बताए। जवाफमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र विकासका क्षेत्रमा नेपालसँगको सहकार्य जारी राख्ने प्रतिबद्धता जनाइन्। उनले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने समेत बताइन्।
