काठमाण्डौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक रिहा भएका छन् । सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
जेनजी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा प्रहरीले यही चैत १४ गते बिहान लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ परेका थिए । ओली पनि बिहीबारै रिहा भएका छन् ।
