काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको आकार सानो भयो भनेर चिन्ता नलिन सांसदहरूलाई सुझाएका छन् । पार्टी कार्यालय च्यासलमा एमाले सांसदहरूसँग छलफल गर्दै उनले चौतर्फी घेरबन्दीका बापजुत एमालेको यो उपस्थिति मजबुद भएको बताए । निर्वाचनको परिणाम अस्वभाविकमात्र नभइ अपत्यारिलो र जादुमय भएको टिप्पणी ओलीको छ ।
उनले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो तथा जादुमय छ । हाम्रा विरोधिले हाम्रा उद्देश्यका विरोधिले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रित गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो ।’ एमालेको सभ्य शैलीले त्यसको प्रतिवाद गर्न नसकेको पनि उनले सुनाए ।
अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ”, उनले भने, “यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ ।”
उनले महाभारतको कथा सुनाउँदै भने, ‘महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।’अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताउनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल, सचिव पदमा अर्याललगायत सहभागी रहेका थिए ।
