काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसको भ्रातृ संस्थाका रुपमा नरहने निर्णय गरेको छ । नेविसंघको काठमाडौंमा सम्पन्न सिनेट बैठकले पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने निर्णय गरेको हो । नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको हो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको विधान अनुसार सिनेट बैठक महत्वपूर्ण नीतिगत र वैधानिक निर्णय गर्ने थलो हो । सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए ।
‘बदलिदो समय अनुसार विद्यार्थी आन्दोलनमा पनि सुधार जरुरी रहेको महसुस गरेकै थियो । सिनेट बैठकले नेविसंघमा संस्थागत सुधारको ढोका खुलेको छ । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली स्वायत्त बनाउने निर्णय गरेका छौं’, अध्यक्ष शेर्पाले भने । उनले पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिएको उनले बताए ।
नेविसंघले खोजेको कार्यगत स्वयत्तता हो । पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रह्यो । जसले विद्यार्थी आन्दोलनका विषयमा हामी प्रभावकारी हुन नसक्ने भयौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने, ‘यसैले नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट हामी यो निर्णयमा पुगेका छौँ ।’ कांग्रेसको भ्रातृ संगठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्ने नहुने प्रवक्ता सेजुवालले बताए । ‘हामी कांग्रेसभन्दा पर हुन्नौँ । पार्टीकै मूल्यमान्यता आत्मसात् गर्छौँ । बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्गनिर्देशक सिद्धान्त रहन्छ,’ उनले भने ।
नेविसंघ पार्टीको भ्रातृ संगठन रहँदा विद्यार्थी आन्दोलनका मुद्दा उठाउन नसकेको, आफै व्यवस्थित र स्वचालित संगठन हुन नसकेको गुनासो नेविसंघका पदाधिकारीहरूको छ । ‘कतिसम्म भने हाम्रो अधिवेशन स्वचालित नै हुन सकेन । समिति आउन पनि पार्टीको सभापति र कार्यसम्पादन समितिको निर्णय चाहिने, उहाँहरूले चाहे, गठन र विघटन हुने । विधान संशोधन चाहे पार्टीलाई पर्खिनुपर्ने । यसले नेविसंघ प्रभावकारी हुन नसकेको हाम्रो समीक्षा रह्यो,’ प्रवक्ता सेजुवालले भने ।
यस्तै कांग्रेस सरकारमा रहँदा हुने गलत निर्णय र अकर्मण्यताको भारी पनि नेविसंघले बोक्नुपर्दा संगठनको साखमा पनि क्षति पुगिरहेको उनले बताए । ‘भ्रष्टाचार पार्टीका नेताले गर्ने, त्यसको भारी नेविसंघले बोक्नुपर्ने । विरोधमा समेत बोल्न नपाइने । त्यसले हामीले गरेका कैयौँ राम्रा काम पनि ओझेलमा परे,’ सेजुवालले भने, ‘अब नेविसंघले विद्यार्थी र देशका मुद्दा उठाउँदा निर्धक्क उठाउन पाइयोस् भन्ने हाम्रो उद्देश्य हो ।’
नेविसंघ विद्यार्थी राजनीतिको विरासत बोकेको संगठन भएकाले यसले मौलिक रूपमै काम गर्न पाउनुपर्ने पदाधिकारीहरूको जोड छ । ‘पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा पनि नेविसंघ सक्रिय थियो । त्यो बेला नेविसंघले गरेका राम्रा कामकै जगमा लोकतन्त्र आएको हो,’ अध्यक्ष शेर्पाले भने, ‘हो त्यस्तै आन्दोलनका रूपमा अब नेविसंघ अगाडि बढ्छ ।’
