जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज ( शुक्रबार) प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिने भएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा ( २) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएका छन्।
गत कात्तिक २८ गते नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सदनबाटै राजीनामाको घोषणा गरेका थिए। सत्ता सहकार्य गरिरहेका तीन दलमध्ये नेकपा एमाले र नेकपाले एकपछि अर्को गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
सरकार गठनको प्रक्रिया अघि बढेसँगै नयाँ मुख्यमन्त्रीको नेतृत्व र सत्ता समीकरणबारे दलहरूबीच छलफल जारी छ। तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने र कुन(कुन दलबीच सहकार्य हुने भन्ने विषयमा खुलिसकेको छैन ।
