काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सिनियर नेता भएकाले दलको नेताका लागि स्वतः दाबी हुने बताए। उनले भने, ‘म सबभन्दा सिनियर पनि हुँ। सबभन्दा संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलोठूलो योगदान गरेको छु। २०४७ सालपछिको संसद्मा कांग्रेसको सिंगै धान्दिने मध्ये म पनि हुँ।’
उनले आफ्नो योगदान भुलेर गगनको ससुरा भनेर प्रचार गरिएकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘म गगन थापाको ससुरा भएर अर्जुन नरसिंह भा होरु तपाईँहरू नै लेख्नुहुन्छ। मैले सङ्घर्ष गरेर आएँ, २०१८ साल वैशाख ७ गतेबाट जेल जीवन यात्रा सुरु गरेर साढे ६–७ वर्ष जेल बसेँ। जुन एउटा यात्रा पार गर्या छु। गगनजी आफ्नो व्यक्तित्वले, आफ्नो क्षमताले उदय हुनुभएको छ। भने मेरो आफ्नै योगदान छ।’
उनले केन्द्रीय कार्यसमितिका सदस्य सबै जिम्मेवार भएकाले सभापतिबाट गगन थापाले राजीनामा दिनु नै गलत भएको बताए। उनले भने, ‘विशेष महाधिवेशनका सहभागीदेखि जम्मै जिल्लाका नेतृत्वहरू त्यसमा जिम्मेवार हुन्छन्। कांग्रेसभित्र फेरि अभूतपूर्व रूपको एकताको आवश्यकता छ।
यसले एकले अर्कोलाई पन्छाउने, नकारात्मक दृष्टिकोणले हेर्ने र एकले अर्कोलाई आक्षेप प्रत्याक्षेप लगाएर मुक्ति हुने भन्दा पनि समग्र रूपबाट फेरि कांग्रेसलाई एकीकृत बनाएर कसरी लिएर जान सकिन्छ, त्यो चिन्तन अहिलेको आवश्यकता हो।’ सभापति थापाको राजीनामा अस्वीकृत गर्नेबारे केन्द्रीय कार्यसमितिको निर्णय पर्खिन आग्रह गरे।
