रौतहट । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५७ सिट जितेको थियो । समानुपातिकसहित मत जोड्दा कांग्रेस संसद्मा ठूलो दल बनेको थियो । तर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो पराजय व्यहोरेको छ । सबैभन्दा धेरै मत पाउँदै आएको मधेशबाटै कांग्रेसले यसपटक ठूलो पराजय भोग्यो ।
मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार फिरदोश आलमले रौतहट क्षेत्र नम्बर २ मा जित हासिल गरेका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापादेखि केही पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू चुनाव लडेको मधेशमा फिरदोशले मात्रै जित निकाले ।
२०४३ साल मंसिर ५ गते जन्मिएका डा। फिरदोस, कांग्रेसका नेता स्वस् अफताब आलमका जेठा छोरा हुन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट राजिनामा दिएर राजनीतिमा लागेका आलम डाक्टरसमेत हुन । उनले बागंलादेशको ढाका विश्व विद्यालयमा अध्ययन गरेका हुन् ।
शेख इद्रिसदेखि आफताब आलमको विरासत धान्न उनी २०७९ को निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका फिरदोशले यस पटक उनैलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए। प्रतिनिधिसभा निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेभने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका किरण साहले १८ हजार ४२२ मत पाए ।
निर्वाचित भएपछि फिरदोशले निर्वाचन क्षेत्रको विकासका लागि आफूले सकेको पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेकोले आफूले यी समस्यालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। फिरदोसका भाइ डा। रजिक आलम भने रौतहटकै राजपुर नगरपालिकाका मेयर छन् ।
