सर्लाही । जेनजी विद्रोह लगतै केपी शर्मा ओलीको नेतृत्वको सरकार विस्थापित भयो । संसद् विघटन भयो । २१ फागुनका लागि नयॉ निर्वाचनको मिति तोकियो । त्यसबेलादेखि नै अमरेशकुमार सिंहको मनमा एकखालको हलचल पैदा भएको थियो । कांग्रेस भित्र नेतृत्व परिवर्तनको मुद्दा चल्दै थियो । तत्कालीन सभापति शेरबहादुर देउवा र हालका सभापति गगन थापासंग उनको राम्रो सम्वन्ध थिएन । नेता शेखर कोइरालाका निकट थिए । त्यतिनै बेलाको एक भेटमा सिंहले भनेका थिए,‘कांग्रेसको सभापति शेखर कोइराला भए भने म कांग्रेसबाटै टिकट लिन्छु । आएनन् भने घण्टीबाट लड्छु ।’
दोस्रो पटक पनि स्वतन्त्रबाटै चुनाव लडेर जितिने विश्वास उनमा थिएन । त्यसैले कित कांग्रेस र कि रास्वपाबाट टिकट लिने मनस्थिति बनाइरहेका थिए । कांग्रेस नेता कोइराला विशेष महाधिवेशनको पक्षमा उभिएनन्। गगन थापा नै सभापति हुने भएपछि अमरेश रास्वपामा प्रवेश गर्ने मनस्थिति बनाए । रास्वपा सभापति रवि लामिछानेसँग उनको पहिल्यैदेखि भेटघाट चलिरहकै थियो ।
रास्वपाबाट टिकट पाउने भएपछि उनी कांग्रेस सभापति थापासँग टिकटका लागि प्रयास नै गरेनन्। रास्वपाबाट चुनाव लडे । अन्ततः कांग्रेस सभापति थापालाई पराजित गरेर अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छाएका छन्। राजनीतिका हरेक घटनाक्रमलाई षडयन्त्रको सिद्धान्तबाट बुझ्ने र विश्लेषण गर्ने उनको राजनीतिक चरित्रनै हो । गगन थापा काठमाडौं–४ छाडेर सर्लाही–४ को आफ्नै निर्वाचन क्षेत्रमा झर्दा उनले त्यस्तै बुझेका थिए । भनेका थिए,‘यहॉ बाहिरबाट जो–जो चुनाव लड्न आए ती सबैले हारेका छन्। अब हार्ने पालो गगनको ।’
निर्वाचनको प्रचारको दौरानका बेलामा अमरेशले दश हजार मतान्तरमा कांग्रेस सभापति थापालाई पराजित गर्ने बताउँदै आएका थिए । परिणामले त्यो भन्दा बढी मतान्तरमा गगन पराजित हुन पुगे । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत ल्याए । १२ हजार ८ सय ५७ मतान्तरमा थापा पराजित भए ।
अमरेशको संसदीय यात्रा यो पाँचौपटक हो । ०६४ देखि कांग्रेस सभापति गगनको निरन्तर ससदीय यात्रालाई ब्रेक लगाएका अमरेशले प्रत्यक्षबाटै चार निर्वाचन जिते । २०७० देखि ०८२ सम्मका चार निर्वाचनमा जित हासिल गरेका छन भने ०६४ को निर्वाचन मात्रै उनी पराजित भएका छन् । त्यसअघि अन्तरिम संसद्मा पनि कांग्रेसबाट मनोनित सांसद थिए ।
कांग्रेसमै हुँदा पनि थापा र अमरेशबीचको सम्वन्ध कहिल्यै सुमधुर भएन । ०७९ मा कांग्रेसमा बिद्रोह गरेदेखि अमरेश कांग्रेस पसेनन्। २०७९ को निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि अमरेश विद्रोह गरेर स्वतन्त्र उठेका थिए । त्यतिबेला कांग्रेसले नागेन्द्र कुमारलाई टिकट दिएको थियो ।
त्यतिबेला उनीसँग कुनै पार्टी थिएन । कार्यकर्ता थिएनन् । स्वतन्त्र उठेर १७ सय ६४ को मतान्तरमा कांग्रेसका उम्मेदवार कुमारलाई पराजित गरेका थिए । ‘यसपटक म सँग रास्वपा छ । चर्चित चुनाव चिह्न घन्टी छ । जेनजी विद्रोहको तागत छ । बालेन र रवि जस्ता नेता साथमा छन,’ उनी भन्थे,‘त्यसैले मेरो जित निश्चित छ ।’
