म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा। महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी९केबी०ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको छ । मतगणनाको सुरुवाती देखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्दै आउनुभएको थियो ।
बिजेता पुनले आफ्ना समर्थकहरुलाई विजय उत्सवको आयोजना नगर्न सूचना जारी गर्नुभएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि अब केही बेरमा समानुपातिक तर्फको मत गणना थालिने उहाँले बताउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।
