काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । उनले चुनाव तोकिएकै समयमा हुने मात्र बताइनन् । चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको पनि दावी गरिन् । अनि आफूहरू अर्थात सरकारलाई चुनाव सार्ने विषयमा कसैले केही नभनेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, ‘सरकारले जसरी पनि गराउँछ निर्वाचन । कुनै कारणले रोकियो भने फेरि गराउँछ ।’ समस्या भएका ठाउँमा सहजीकरण गरेरै भए पनि चुनाव गराउने बताउँदै उनले कुनै ठाउँमा कारणबस स्थगित गर्नुपरे लगत्तै निर्वाचन गराउउने बताइन । उनले भनिन्, ‘थोरै ठाउँ विवादास्पद अवस्था भएको खण्डमा साधनको प्रयोग गरेर पनि सहजीकरण हुन्छ । तर जे भए पनि निर्वाचन हुन्छ । यो इम्मर्जेन्सी हो । भदौ २३ को घटना २४ को घटना होला भन्ने कसलाई थाहा थियो र रु यो परिस्थितिले निर्वाचन अनिवार्य गराउनुपर्ने अवस्था आएको हो । जसरी पनि निर्वाचन हुन्छ ।’
प्रधानमन्त्री कार्कीले अबको निकास नै निर्वाचन भएको बताएकी छन् । उनले भनिन्, ‘अबको निकास भनेको पनि यही हो । जनताले मत दिने हो । नयाँ प्रतिनिधि आउने हो । उनीहरूले नै देश चलाउने हो ।’ विभिन्न राजनीतिक दलका नेताले चुनाव सार्नुपर्ने भन्ने आसयका कुरा गरेका छन् नि भन्ने प्रश्नमा उनले भनिन्, ‘चुनाव सर्दैन । चुनाव सार्ने विषयमा कसैले पनि सरकारसँग कुरा गरेको छैन । चुनाव सार्नुपर्ने आवश्यकता पनि छैन । तोकिएकै समयमा चुनाव गराउनुपर्छ ।’
निर्वाचनका बहानामा धेरै खर्च भएको बताउँदै उनले भनिन्, ‘यकीन त होइन तर यो बेला ३१र३२ अर्ब खर्च हुन्छ होला । सबै निर्वाचनलाई त होइन । विभिन्न क्षेत्रमा खर्च भएको छ तर निर्वाचनकै नामले चुनाव नगराउनुपर्ने थियो भने त्यो रकम अरु विकास निर्माणका काममा खर्च गर्न पाइन्थ्यो । यत्रो खर्च भएपछि अब निर्वाचन हुनै पर्छ । हुन्छ ।’
