काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ। निर्वाचन हुन ठिक एक महिना बाँकी हुँदा सेना मैदानमा खटिन लागेको हो। निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार सेना परिचालन हुन लागेको हो।
सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ। यस अवधिमा सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार, विमानस्थल तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। गत कात्तिकमा दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखेपछि निर्वाचन आयोगले भरपर्दो सुरक्षा सुनिश्चित गर्न सेनासहित चार वटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो।
निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समिति बैठकले सिफारिस गरेपछि मंसिर ११ मा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका थिए। सेनाका अनुसार आवश्यकता हेरी गस्ती र एरिया पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि हुनेछ।
असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले कात्तिक ३० मा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। त्यसअनुसार नै सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारीको प्रबन्ध गरिएको हो।
निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ। निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७२७ जना, नेपाल प्रहरीका ७५ हजार ५९७ जना, प्रहरीमातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी मैदानमा खटिने छन्। सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्रमातहत १५ हजार ११० निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ। एक हजार ९२१ जना गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन्। निर्वाचन प्रहरीमा भर्ना गरिएकालाई तालिम दिन थालिएको छ।
प्रदेशको जनसंख्या र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानेर प्रहरी खटाउने तयारी छ। नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार निर्वाचनका बेला आवश्यकताअनुसार पहिलो, दोस्रो र तेस्रो घेरामा निर्वाचन प्रहरीसहित जनशक्ति परिचालन गरिनेछ। सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाका आधारमा प्रहरीको संख्या बढाइने पनि उनको भनाइ छ।
उनका अनुसार एउटै मतदानस्थलमा औसत १३ वटा मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी औसतमा ८० जनासम्म खटिनेछन्। सेना र प्रहरीले मतपेटिका, उम्मेदवार, मतदाता तथा मतदान अधिकृतको सुरक्षा सुदृढ बनाउने गरी तयारी गरिरहेको जनाएका छन्। निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछ। यसपटक नेपाली सेनाले मतपेटिकाको पनि सुरक्षा गर्नेछ।
