काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट नभएको बताएका छन्। धनुषा(१ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा बोल्दै पार्टीका कुनै गुट नरहने बताए। उनले भने, ‘हाम्रो नेतृत्वमा एक पटक हिजोका असल कुराहरू सम्झेर, गल्ती कुराहरू नदोहोर्याइकन देशलाई हाँक्नका निम्ति राम पल्टन साह पनि जितेर आउनुपर्छ, दिनेश कोइराला पनि जितेर आउनुपर्छ, विमलेन्द्र निधि पनि जितेर आउनुपर्छ, तपाईँको क्षेत्रबाट महेन्द्र यादवलाई तपाईँले जिताएर पठाउनै पर्छ।’
उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको जिकिर गरे। उनले मधेसले पूर्ण विश्वास गरेर कांग्रेसको एकमना सरकार बन्ने बताए। उनले भने, ‘पार्टी भित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन। कसैले एउटा कुरा पनि नराखीकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन, हामी फरक ढङ्गले आएका छौँ, फरक सोचका साथमा आएका छौँ। त्यसैले पार्टीको उम्मेदवारको, कांग्रेसको कार्यकर्ता भएर ‘गाछी’ चिन्ह लिएर उम्मेदवार आइसके पछाडि, मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्ने कुरा अब गौण भयो। त्यसको कुनै पनि अर्थ छैन अब। पछि बसौँला, छलफल गरौँला।’
भोलि कुनै पार्टीका नेताहरूले असहयोग गरेको कतै सुन्नु नपर्ने अवस्था ल्याउन आग्रह गरे। उनले कांग्रेस देश जोड्ने रहेको रहेको बताए। उनले थपे, ‘हामी ध्वंस गर्ने पार्टी होइन, उत्तेजना फैलाउने पार्टी होइन। कांग्रेस भनेको सम्हाल्ने शक्ति हो। यो जानकी माताको ठाउँ हो, यो ठाउँको प्रत्येक घरमा तपाईँले सन्देश पठाउनुपर्छ। हामीलाई ध्वंस गर्ने शक्ति होइन, हामीलाई उचाल्ने शक्ति होइन, हामीलाई उकास्ने शक्ति होइन। हामीलाई सम्हाल्ने शक्ति चाहिएको छ, मिलाउने शक्ति चाहिएको छ, सच्याउने, सुधार्ने शक्ति चाहिएको छ।’
