काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबीच चुनावी तालमेल भएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनमा दुवै पार्टीले एकअर्कालाई सघाउने गरी आइतबार सहमति गरेका हुन्। सहमति अनुसार एमालेले पश्चिम रुकुममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुममा सन्दीप पुनलाई आँखा चिन्हमा मतदान गर्नेछन्।
पूर्वी रुकुममा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उम्मेदवार छन्। बदलामा प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुलाई मत हाल्ने सहमति भएको छ।
सहमति पत्रमा एमाले उपाध्यक्षा रामबहादुर थापा बादल र प्रलोपाका अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन्। तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० द्वारा मतदान गर्ने सहमति भएको छ ।’
