काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ ( १ ) , अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा ( ३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उनले बताए ।
यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’ मा हेर्न सकिने आयोगले जनाएको छ ।
