जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रास्वपा अध्यक्ष रबि लामिछाने , काठमाडौं महानगरका मेयर बालेन साह र नेपाल विद्युत प्राधिकरण पूर्वप्रमुख कुलमान घिसिङप्रति पनि कडा टिप्पणी गरे। उनीहरूलाई लोकप्रियतावादको राजनीति गर्ने आरोप लगाउँदै आगामी निर्वाचनपछि उनीहरूको ‘प्रियतावादी हावाको बेलुन’ फुट्ने दाबी गरे। साहले सरकारले सुशासन, भयरहित निर्वाचन र सुरक्षा वातावरण निर्माण गर्न सरकार असफल भएको बताएका छन्।
मंगलबार धनुषा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत महेन्द्रनगरमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै साहले लुटिएका प्रहरीका हतियार फिर्ता नभएको, फरार कैदीबन्दी पक्राउ नपरेको र अपराध नियन्त्रणमा सरकार कमजोर देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा निष्पक्ष चुनावप्रति जनविश्वास नबनेको दाबी गरे।
उनले ठूला दलका नेताहरू र आफूलाई जेनजी आन्दोलनको प्रतिनिधि बताउने शक्तिहरू निर्वाचन सार्ने षड्यन्त्रमा लागेको भन्दै जनतालाई सचेत रहन आह्वान समेत गरे। निर्वाचन सार्न खोजिए जनस्तरबाटै प्रतिकार हुने चेतावनी पनि उनले दिए। देश विषम परिस्थितिमा गुज्रिरहेकोले देशभक्त र परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बेला आएको भन्दै जनतालाई खबरदारी गर्न आह्वान गरे। २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन सार्ने षड्यन्त्रमा लागेको गम्भीर आरोप लगाएका छन्।
निर्वाचन गराउने म्याण्डेट पाएका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत केपी ओली र रमेश लेखकको मुख ताकेर बसेको टिप्पणी गरे। यस्तो अवस्था स्वयं सरकार र देशका लागि लाजमर्दो भएको उनको भनाइ थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै साहले बाहिर चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिए पनि भित्री रूपमा उम्मेदवार छनोट र चुनावी तयारीमा लागेको आरोप लगाए।
संसद् पुनःस्थापनाको दाबी गर्दै आएका ओली स्वयं चुनावी तयारीमा लागेको भन्दै दोहोरो चरित्र नदेखाउन उनले चेतावनी दिए।साहले कांग्रेस नेता गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र पुस्तान्तरणको बहस गरे पनि समयमै नेतृत्व परिवर्तनका लागि हस्तक्षेप गर्न नसकेको आरोप लगाए। निर्वाचनको मुखमा विशेष महाधिवेशनको नाममा चुनाव पर धकेल्ने प्रयास भए जनताले प्रतिकार गर्ने उनको चेतावनी थियो।
