काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा। मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।
यस्ता छन् सरकारका निर्णयहरुः
१ . २०८२ माघ ४ गते आईतवारका दिन ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम अमेरिकी डलर दुई लाख त्रियासी हजार पाँच सय तीन भुक्तानी गर्न स्वीकृति दिने ।
३. मेक्सिकोमा २०८२ माघ २६ देखि फागुन १ गतेसम्म आयोजना हुने एएमएलरसिएफटी सम्बन्धी एफएटिएफ को प्लेनरी बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव ( राजस्व ) श्री भूपाल बराललाई स्वीकृति प्रदान गर्ने । वित्तीय क्षेत्र विकास रणनीति ( २०८२/८३–२०८६/ ८७ ) स्वीकृत गर्ने ।
४. २०८२ माघ ६ र ७ गते चीनको सिजाङ्ग ( ल्हासा ) मा आयोजना हुने नेपाल–चाइना कोर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेसनको तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।
नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने ।
२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय डा। मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा २०८२ माघ ९ देखि १२ गतेसम्म सहभागी हुन माननीय निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधारलाई स्वीकृति प्रदान गर्ने ।
२०२५ मार्चको भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया ९बौद्ध पगौडा० को अभिलेखालय पुनःनिर्माण र गंगाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने । मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने ।
समस्याग्रस्त संस्था वा सङ्घको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य श्री उद्ववप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा श्री मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने ।
नेपाली सेनाका तीन जना महासेनानीहरूको सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरूको सरूवा गर्ने ।
२०८२ माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेसमा आयोजना हुने छैटौं ग्लोवल कन्फ्रेन्स अन द एलिमेसन अपफ चाइल्ड लेबरमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने ।
स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्दप्रसाद निरौलाको २०८२ माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिने ।
दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने ।
इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्ने गरी मालपोत कार्यालय र नापी कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने ।
२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको १५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्डमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा श्री रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने ।
