काठमाडौँ । निर्वाचन आयोग र प्रमुख दलका शीर्ष नेताहरूबिच स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने भएका छन् । शुक्रबार निर्वाचन आयोगमा राजनीतिक दलका नेता र आयोग पदाधिकारीबिच भएको छलफलमा उच्चस्तरीय संयन्त्रको बैठक बसेर सहमति जुटाउने र सोही अनुसार आयोगलाई सुझाव दिनेबारे कुराकानी भएको रास्वपा नेता जगदीश खरेलले जनकारी दिए ।
छलफलमा आयोगका पदाधिकारीहरूले मतदाता नामावली अद्यावधिक देखि अन्य प्रगतिका बारेमा नेताहरूलाई जानकारी गराएको थियो । स्थानीय र प्रदेशको निर्वाचन एकै पटक गर्न सकिन्छ सकिँदैन, सम्भव छ कि छैन ? भनेर छलफल भयो’, छलफलपछि रास्वपा नेता जगदीश खरेलले भने, ‘ठोस निष्कर्ष निस्केको छैन ।’ उनले प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने बारेमा उच्चस्तरीय राजनीतिक स्तरमा छलफल गरेर सहमति जुटाउने बताए ।
‘अबका दिनमा गर्नुपर्ने चुनावहरूका बारेमा राजनीति, कानुनी, आर्थिक र प्राविधिक पाटोबाट छलफल भयो’, उनले भने– ‘आयोग निर्वाचन गराउन तयार छ । दलहरूले त्यसमा सहमति गर्दिनुपर्यो भन्ने उसको भनाइ छ ।’ उक्त छलफलमा विदेशमा रहेका नेपाली र अन्तर जिल्ला मतदानबारे समेत कुराकानी भएको खरेलको भनाइ छ ।
