काठमाण्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ। उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए ( ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन ) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो।
ट्रम्प, विदेशमन्त्री मार्की रूबिओ, रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी सेना प्रमुख ड्यान केन लगायतले अमेरिकाको उक्त अपरेसनको विवरण सार्वजनिक गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनाको उक्त अपरेसनलाई अभुतपूर्व भनेका छन्। अमेरिकी सेना कराकस पुग्दा आफू मार(ए(लागोमा मन्त्री र सैन्य अधिकारीसहित बसेर त्यहाँको प्रत्यक्ष प्रसारण हेरिरहेको उनले बताएका छन्।
रक्षामन्त्री पिट हेगसेथले मदुरोलाई देश छाडेर भाग्नका लागि धेरै अवसरहरू दिइएको तर उनले वास्ता नगर्दा अमेरिकाले पक्राउ गर्नुपरेको बताए। उनका लागि धेरै अवसरहरू थिए। तर मदुरोले त्यसो गरेनन्। त्यसकारण राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार पक्राउ गर्यौं र यहाँ ल्यायौं,ु हेगसेथले पत्रकार सम्मेलनमा भने। ट्रम्पले लगातार धम्की दिएपछि मदुरोले रूस र बेलारूससँग सम्भावित शरणबारे कुराकानीसमेत गरेका थिए। त्यसबेला दुवै देशले मदुरोप्रति सद्भाव देखाएका थिए।
मदुरोले पछिल्लो समय अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएका थिए। उनले त्यसो भनेको दुई दिनमै अमेरिकी सेना उनको घरभित्रै छिरेर पक्राउ गरेको हो। ट्रम्पको व्यापक धम्की र क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाको बढ्दो उपस्थितिबीच मदुरोले आफ्नो सुरक्षा बढाएका थिए। त्यसका बाबजुद सजिलैगरी उनलाई अमेरिकी सेनाले कसरी नियन्त्रणमा लियो भन्ने चासोको विषय हुन सक्छ।
अमेरिकी सेनाप्रमुख ड्यान केनले शनिबारको पत्रकार सम्मेलनमा सैन्य अपरेसनबारे विस्तृत बताएका छन्। मदुरोलाई पक्राउ गर्ने अपरेसनलाई अपरेसन एब्सोल्युट रिजल्भु नाम दिइएको थियो। यो अपरेसन शनिबार बिहान भए पनि त्यसको तयारी भने महिनौं अघिदेखि गरिएको थियो। गत अगस्टमा गुप्तचर संस्था सिआइएका अधिकारीहरूको एक टोली कराकस छिरेर मदुरोको गतिविधिबारे सूचना संकलन गरेको थियो। उनीहरू कुटनीतिक आवरणविनै कराकसमा महिनौं लुकेर मदुरोको गतिविधिको निगरानी राखेका थिए। उनीहरूले मदुरो कहाँ जान्छन् भन्नेदेखि के खान्छन् र उनको घरमा कुन घरपालुवा जनावर छ भन्नेसम्मका विवरण संकलन गरेका थिए।
मदुरोको निवास आसपास ुस्टिल्थ ड्रोनुसमेत उडाइएको थियो। यसले पनि मदुरोको गतिविधि, दिनचर्या र उनको सुरक्षाबारे सुक्ष्म रूपले निगरानी गरिएको थियो। यो ड्रोन सामान्य आँखाले, रडारले र सामान्य सेन्सरले सजिलै पहिचान गर्न नसकिने गरी बनाइएको हुन्छ भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।
