काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गरेका छन्। तीन राजनीतिक शक्तिबिच चुनावी तालमेलको अन्तिम सहमति जुटेसँगै सोमबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा तीनै जनाको तस्बिर राखेका हुन्। उनले तस्बिरको क्याप्सनमा लेखेका छन्– ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’
बालेनले उक्त तस्बिर पोस्ट गरेको १० मिनेट नबित्दै १ लाखभन्दा बढी लाइक आइसकेको छ। साथै, सोही छोटो अवधिमा ९ हजारभन्दा बढीले उक्त पोस्ट सेयर गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो एकतालाई ऐतिहासिक भन्दै कमेन्ट बक्समा हजारौं प्रतिक्रिया जनाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिने कसरतस्वरूप यो सहमति भएको हो। यसअघि रास्वपा र बालेनबिच सहमति भइसके पनि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पदीय भागबन्डा र सिट बाँडफाँटमा कुरा नमिल्दा वार्ता भाँडिने अवस्थामा पुगेको थियो।
तर, सोमबार साँझ जेनजी अभियन्ताहरूको दबाब र सहजीकरणपछि तीनै पक्षबिच सहमति जुटेको हो। रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको लामो वार्तापछि रवि, बालेन र कुलमान एकै ठाउँमा उभिन तयार भएका हुन्।
