काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच वार्ताको प्रयास जारी छ। हिजो मध्यरातसम्म तीनै नेताबीच छलफल भए पनि एकता वार्ता निष्कर्षमा पुग्न सकेन। सहमतिका लागि आज पनि छलफल जारी रहने उज्यालो नेपालका नेता तथा वार्ता समिति सदस्य डा. शंकर ढकालले जानकारी दिए।
बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि एकताको बहस चलेको छ। तर, त्यहाँभन्दा बढी प्राथमिकता घिसिङले रास्वपालाई नै दिएका छन्। शुक्रबार शाहसँगको वार्ता बिफल भएपछि उनपाले रविलाई सभापति र बालेनलाई प्रधानमन्त्री दुबै नस्वीकार्ने निर्णय गरेको थियो।
तर, सुदन गुरुङ लगायतले भने घिसिङलाई पनि एकता प्रकृयामा ल्याउन दबाब दिँदै आएका थिए। त्यही दबाबपछि हिजो छलफल भएको हो। तर, कुरा नमिलेपछि गुरुङले मध्यराति एक बजेर एक मिनेटको समय नै उल्लेख गर्दै परिवर्तन चाहने शक्तिहरु एक हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। घिसिङ अलग हुन खोजेका हुन् वा अलग राखिएको हो भन्दै गुरुङले प्रश्न समेत गरेका थिए। स्रोतका अनुसार घिसिङले आगामी प्रधानमन्त्रीका लागि आकांक्षा राखेका छन्।
यस्तै पार्टीमा कुन पद दिने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन। नेता ढकालका अनुसार सुरुमा तीनैजना सम्मिलत अध्यक्षमण्डल बनाएर जानुपर्ने र महाधिवेशनमार्फत पार्टीको नेतृत्व छान्नुपर्ने लगायतका माग छन्। जो लामिछाने पक्ष मान्न तयार देखिएको छैन। घिसिङले आफूहरुको शक्तिलाई पन नजरअन्दाज नगर्न भन्दै कम्तिमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने गरी बार्गेनिङ बढाइरहेका छन्।
