अमेरिकाले रूस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक पहल तीव्र पारिरहेका बेला दुबै देशले शनिबार राति एक–अर्कामाथि व्यापक हवाई हमला गरेका छन्। एपीका अनुसार रातभर चलाएको हवाई आक्रमणमा रूसले ठूलो संख्यामा मिसाइल र ड्रोन प्रयोग गर्यो।
रूसले मात्र ६५३ ड्रोन र ५१ मिसाइल युक्रेनतर्फ प्रहार गरेको दाबी गरिएको छ। किभसहित २९ स्थानमा हमला हुँदा युक्रेनी सहरहरूमा रातभर सुरक्षा साइरन बजिरह्यो। युक्रेनले ५८५ ड्रोन र ३० मिसाइल आफ्नो प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ।
युक्रेनका गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार कम्तीमा आठ जना घाइते भएका छन्, जसमा किभ क्षेत्रमा मात्रै तीन जनाको चोट लागेको छ। एलविभसम्म ड्रोन पुगेको पुष्टि युक्रेनी अधिकारीहरूले गरेका छन्। ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको ‘युक्रेनर्गो’ले जनाएको छ।
रूसको नियन्त्रणमा रहेको जापोरिज्झिया आणविक केन्द्र बाहिरी विद्युत् आपूर्तिबाट केही समयका लागि अलग भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जनाएको छ। रियाक्टर सञ्चालनमा नभए पनि चिस्याउने प्रणालीका कारण निरन्तर बिजुली आवश्यक हुने भएकाले जोखिम बढेको उल्लेख गरिएको छ। राष्ट्रपति जेलेन्स्कीले फास्टिभस्थित रेल्वे स्टेशन ड्रोन हमलाबाट जलेर नष्ट भएको जानकारी दिएका छन्।
रूसले भने आफ्नो भूभागमा आएका ११६ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। रियाजान तेल प्रशोधन केन्द्रमा युक्रेनले हमला गरेको दाबी रूसी टेलिग्राम च्यानलहरूले गरे पनि प्रारम्भमा पुष्टि भएको थिएन,पछि युक्रेनी जनरल स्टाफले आक्रमण स्वीकार गरेको छ।
यसैबीच, अमेरिका फ्लोरिडामा अमेरिकी अधिकारी र युक्रेनी प्रतिनिधिमण्डलबीच युद्धपछिको सुरक्षा संरचनाबारे तेस्रो दिनको उच्चस्तरीय वार्ता हुँदैछ। राष्ट्रपति जेलेन्स्कीले अमेरिकी पक्षसँग गम्भीर टेलिफोन वार्ता भएको बताए। अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पका दूत स्टिभ विट्कोफ र जारेड कुश्नरसहित युक्रेनी वार्ताकारहरूले दीर्घकालीन शान्ति रुसको वास्तविक प्रतिबद्धतामा निर्भर रहने बताएका छन्।सोमबार लन्डनमा युक्रेन, बेलायत, फ्रान्स र जर्मनीका नेताहरूबीच जेलेन्स्कीसँग बैठक हुने पनि जनाइएको छ।
रूस किन डोनबासबाट पछाडि हट्न तयार छैन?
सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि पुटिनले रूसी भाषी जनसंख्या धेरै रहेको डोनबास क्षेत्रमा प्रभाव विस्तार गर्न खोजे। रूसी भाषीमाथि अत्याचारको बहाना बनाएर उनले पृथकतावादी आन्दोलनलाई समर्थन गरे। हतियार, सैन्य सहयोग र विनावर्दी सैनिक पठाएर रूसले त्यहाँ विद्रोह बलियो बनायो।
२०२२ को खुला आक्रमणपछि पनि रूसले लुहान्स्कको अधिकांश भूभाग कब्जा गरे पनि दोनेत्स्कको २० प्रतिशत हिस्सा अझै युक्रेनकै नियन्त्रणमा छ। दोनेत्स्क युक्रेनको उद्योग, कोइला तथा फलाम खानी, बन्दरगाह र रेलमार्ग भएको महत्वपूर्ण क्षेत्र हो। तर धेरै उद्योग र संरचना रूसी आक्रमणले ध्वस्त भइसकेका छन्।
रूसका लागि डोनबास कब्जा ‘इज्जत’को विषय बनेको छ। एक दशकदेखि युद्ध गरे पनि पूरा नियन्त्रण स्थापित गर्न नसक्नु पुटिनका लागि ठूलो अपमान हुने देखिन्छ। उता, युक्रेनले सैनिक बलिदान दिएर जोगाएको भूभाग रूसलाई सुम्पिन तयार छैन। जेलेन्स्कीले वार्ताको नाममा डोनबास छोड्ने कुनै पनि प्रस्ताव अस्वीकार्य हुने बताउँदै आएका छन्। त्यसैले डोनबास नै युद्ध रोक्ने प्रयासको सबैभन्दा ठूलो अड्चन बनेको छ।
