चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशन अन्तर्गत आज दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको नेता गणेश पराजुलीले जानकारी दिए ।
‘कार्यतालिका अनुसार केही ढिला भयो, अब छिट्टै बन्द सत्र सुरु हुन्छ’, पराजुलीको भनाइ छ । निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ ।
आजको बन्दसत्रमा सभापति रवि लामिछानेसहित नेताहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । जसमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन,सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ र उपसभापति डा। स्वर्णिम वाग्लेले रास्वपाको ‘अर्थ–राजनीतिक प्रस्तावना’ पेस गर्नेछन् । ती प्रस्ताव र प्रतिवेदन पारित गरेपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
