विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि ओखलढुंगा जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया विवादमा परेको छ। जिल्ला कमिटीले सदरमुकाममा सम्पन्न गरेको निर्वाचनलाई केन्द्रीय कार्यालयले अस्वीकार्य भन्दै बदर गरेको र पाँच दिनभित्र पालिकास्तरमै पुनः मतदान गर्न निर्देशन दिएको छ। यो विवादलाई संस्थापन समूह (केपी ओली) र ईश्वर पोखरेल समूहबीचको प्रतिस्पर्धा पनि मानिएको छ।
ओखलढुंगामा अम्बिरबाबु गुरुङ नेतृत्वको प्यानल विजयी भएपछि अर्को समूहले विधि नमानिएको भन्दै केन्द्रमा उजुरी दिएको थियो। केन्द्रको निर्णयपछि अम्बिरबाबु गुरुङले भने, “हामी १३ गतेभित्र चुनाव गराउनुपर्ने निर्देशनअनुसारै अघि बढेका थियौँ। दुई दिन सहमतिको प्रयासपछि विधिपूर्वक चुनाव गरेौँ, ४१ जना सबै उम्मेदवार सहभागी भए, दस्तुर तिरे, मत खसालिए, नतिजा घोषणा भयो। यसमा कुनै अवैधानिकता छैन।”
६ मध्ये ८ पालिकामध्ये ६ पालिकाले स्थानीय तहमै चुनाव मागेका थिए तर सदरमुकाममा चुनाव गराइएको प्रश्नमा गुरुङ भन्छन्, “यदि केन्द्रले पालिकामै गर्नुपर्ने भन्ने धारणा थियो भने सूचना प्रकाशित हुनुअघि नै भनिनुपर्ने थियो। मनोनयन भइसकेपछि एकैदिन सात पालिकामा निर्वाचन सम्भव थिएन। त्यसैले सदरमुकाममै गर्नु व्यावहारिक थियो।”
उनले विवादका मूल कारणमा जिल्लाका केन्द्रीय इन्चार्जहरू किशोर अधिकारी र यज्ञराज सुनुवारलाई जिम्मेवार ठहराए। “उहाँहरूले पालिका कमिटीहरूसँग समन्वय नगरी केन्द्रमा नै पुगेर कुरा मिलाउन खोज्नुभयो। ४१ जना सबै प्रक्रिया पूरा गरेर आएपछि पछि आएर असहमति जनाउनु उचित छैन,” गुरुङले भने।
विवादलाई ईश्वर पोखरेल समूह बनाम ओली समूहको गुटबन्दी भनेर व्याख्या गरिएकोबारे गुरुङले स्पष्ट प्रतिक्रिया दिए
“हामी कुनै गुटको मान्छे होइनौँ। हामी पार्टीका स्वतन्त्र कार्यकर्ता हौं। ‘हामी ओली पक्षबाट जित्यौँ’ वा ‘पोखरेल पक्षबाट जित्यौँ’ भन्नु नै लज्जास्पद हुन्छ। वरिष्ठ नेताहरूको नाम यस्ता विवादमा जोड्नु गलत हो।”
पुनः निर्वाचनमा जाने कि नजानेबारे उनले भने, “हामीले स्वच्छ प्रक्रियाबाट चुनाव गरिसकेका छौँ। कार्यकर्तालाई फेरि दुःख दिनु उचित हुँदैन। तर केन्द्रले तोकेको चार सदस्यीय टोली—शेरधन राई, विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीको निष्कर्षअनुसार नै अघि बढ्छौँ। हाम्रो अडान स्पष्ट छ विधि मिचिनु हुँदैन, क्याडरले अनावश्यक दुःख पाउन हुँदैन।”
