काठमाडौं, १८ मंसिर । नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुला सत्रमा भीड धेरै हुने भएकाले ठूलो संख्यामा स्वयंसेवक आवश्यक पर्ने जानकारी दिए। बन्दसत्रका लागि भने करिब ५०० स्वयंसेवक खटाइनेछन्।
एमालेको ११औं महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। ढकालका अनुसार पार्टीका २४ जनसंगठन तथा विभिन्न कमिटीबाट स्वयंसेवक परिचालित हुनेछन्। यससँगै एमालेले गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले पनि समन्वयमा भूमिका खेल्नेछ।
उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, शौचालय तथा अन्य पूर्वाधार निर्माणका काममा स्वयंसेवकहरू पहिलेदेखि नै व्यस्त छन्। कार्यक्रमको दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमतर्फबाट आउने सवारीसाधनलाई गठ्ठाघरदेखि कमेरोटार क्षेत्रसम्म पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ।
एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा आयोजक र निर्वाचित गरेर २,४०० प्रतिनिधि सहभागी हुनेछन्।
