१७ मंसिर, काठमाडौं। उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन्। उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक चेतमा सबैभन्दा ठूलो प्रभाव लोडसेडिङ अन्त्यको निर्णयले पारेको उल्लेख गरिन्।
उनका अनुसार, देशमा सरकारको नेतृत्वले जनताको दैनिकीमा कस्तो प्रत्यक्ष असर पार्छ भन्ने कुरा पहिलोपटक बुझाएकै घटना लोडसेडिङको अन्त्य थियो। उनले भनिन्, “म जन्मिएदेखि राजनीतिक चेत आयो। त्यसबेलासम्म सरकारको नेतृत्वले मेरो जीवनमा पारेको सबैभन्दा ठूलो प्रभाव लोडसेडिङ अन्त्य थियो।”
रिमाले सोही दिनदेखि कुलमान घिसिङलाई आफ्नो ‘अगुवा’ मान्दै आएको खुलासा गरिन्। उनले भनिन्, “लोडसेडिङ हटाउने दिनमै मैले कुलमान घिसिङलाई अगुवा मानेको थिएँ। १८ घण्टे लोडसेडिङ हटाएर उहाँले हाम्रो घर-परिवारमा उज्यालो फेरिएर ल्याइदिनुभयो।”
उनका अनुसार अब उज्यालो नेपाल पार्टीको नेतृत्वमा देशलाई उज्यालो बनाउने अभियान अघि बढाइनेछ। “उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा छौँ। यो अभियान देशलाई माया गर्ने प्रत्येक नेतृत्वको हो,” उनले भनिन्। सक्रिय राजनीतिमा आउन यही उपयुक्त समय भएको बताउँदै उनले थपे, “सक्रिय राजनीति अब ढिलो भइसकेको छ। आज र अहिले नै उचित समय हो।”
