काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउनुलाई नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भनेका छन् । आज (सोमबार) पार्टीले आयोजना गरेको नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसीको दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य उल्लेख रहेको बताएका हुन् ।
‘हरेक दस्तावेजमा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्यो ? यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो, सामान्य घात होइन,’– उनले भने ।एमसीसीमा राष्ट्रघात हुनेखालका दर्जनौं शर्तहरु समावेश रहेको उनको दाबी छ । एमसीसीको सन्दर्भमा दर्जनौं डकुमेन्ट बनाइएको पनि उनले खुलासा गरे । एमसीसीको सन्दर्भमा १३ वटा डकुमेन्ट आफूले पनि फेला पारेको, तर विस्तृत रुपमा अध्ययन गर्न नपाएको उनले बताए ।
साथै, एमसीसीसम्बन्धी दस्तावेजमा उल्लेख सबै कुरा कुनै पनि नेताले नपढेको उनको दाबी छ । एकाध व्यक्तिहरुको लहड, उनीहरुको निजी स्वार्थ र गुट स्वार्थ, पारिवारिक स्वार्थलगायतका आधारमा यस्ता प्रकारका सम्झौता हुनेगरेको उनले बताए । एमसीसी संसद्बाट पारित गरेर गलत गरिएको उनको भनाइ छ । यसैका आधारमा आगामी दिनमा अरु देशहरुले पनि अन्य परियोजना संसद्बाट पारित गर्नुपर्छ भनेर माग गर्न सक्ने बताए ।