काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । हिजो बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको छ ।
सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका छन् । दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिन राईको निर्देशन रहेको बताईन्छ । भदौ ११ गतेभित्रमा पनि राजीनामा नआए सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरु फिर्ता बोलाउने पदाधिकारीको निर्णय भएको छ ।
तर, पार्टीका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय भएको जानकारी दिए । ‘हामी सरकारमा संलग्न छौं । एक वर्षको कार्यकाल रहनेगरी हामीले हाम्रा मन्त्रीहरुलाई सरकारमा संलग्न गराएका थियौं । अहिले हामीले पार्टीका नयाँ सांसदहरुको नयाँ नाम सिफारिस गरेका छौं । हामीले प्रधानमन्त्रीज्यूसमक्ष पेश गरिसकेका छौं । पूराना मन्त्रीहरुलाई फिर्ता गराएर नयाँ मन्त्री बनाउने भन्ने निर्णय भएको छ,’– वरिष्ठ उपाध्यक्ष बस्नेतले रिपोर्टर्स नेपालसँग भने । बस्नेतले पूरानालाई फिर्ता बोलाएर नयाँ नाम पठाएको भएपनि नयाँ नामबारे भने केही खुलाएनन् ।