बनेपा । परराष्ट्रमन्त्री डा. रजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु र वातावरण संरक्षणमा जोड दिएकी छन्। मन्त्री देउवाले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएकी हुन्। सो कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ रहेको थियो।
उनले भनिन्, ‘नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ। हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ। त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ।’
नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उनले दिइन्।
मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तरराष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण पनि गरिन्। अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने उनको भनाइ छ। रासस