काठमाडौं। ओपनर आशिफ शेखको अर्धशतकका बाबजुद नेपालले टप इन्ड टी–२० सिरिजमा हारको श्रृंखला जारी राखेको छ। जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो। सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार बेहोरेको हो। यसअघि नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो। नेपालका आशिफले सर्वाधिक ५३ रन बनाए। ४९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए। कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे। मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए।
त्यसअघि डार्बिनस्थित टिआइओ रंगशालमा टस जितेर पहिला ब्याटिङ थालेको मेलबर्नले ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सको अर्धशतकसँगै १७५ रन बनाएको थियो। मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए।
१३,१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे। अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन। नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो।