जनकपुर । शनिबार मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
तोकिएको समयसीमाभित्र कुनै पनि दलले बहुमतको दावी गर्न नसकेपछि जनता समाजवादी पार्टी ( जसपा ) संसदीय दलका नेतासमेत रहेका यादव संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले उनलाई आज शपथ गराउन लागेका हुन्।
मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपाका २७ सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न बहुमत अर्थात् ५४ सांसदको समर्थन आवश्यक पर्छ। मधेस प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा एमालेका २३ सांसद छन्। त्यसैगरी, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। साथै संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/ एक जना सांसद छन्।
अब यादवले ३० दिनभित्र बहुमत साबित गर्न प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत प्राप्त गर्न सके मात्रै यादव नेतृत्वको सरकारले निरन्तरता पाउँने छ।
