काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको औपचारिक निमन्त्रणामा मङ्सिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिउँसो १स्४५ बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली जाने तय भएको छ ।
शुक्रबार मात्र दुई देशका सरकारले एकै समयमा उहाँको औपचारिक भ्रमणको घोषणा गरेका थिए । भारत सरकारले प्रधानमन्त्री शाहको स्वागतको भव्य तयारी गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दिल्ली गेटआसपास तथा हैदराबाद हाउसआसपासका प्रमुख सडकमा दुई देशको झन्डा फहराइएको छ । प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुहुने तय भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी, दिल्लीस्थित नेपालका राजदूतलगायत रहनुहुने प्रवक्ता क्षेत्रीले बताउनुभयो । भ्रमणका अवसरमा दुई देशका विभिन्न मन्त्रालय तथा निकायबिच हुने सम्झौता, समझदारी एवं लगानी प्रवर्धनसम्बन्धी कार्यक्रममा समेत सहभागिताका लागि निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी तथा निजी खर्चमा पत्रकारको टोली पनि दिल्ली पुग्ने भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा भारतका प्रधानमन्त्री मोदीसँग ऐतिहासिक भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । जस अनुसार मङ्सिर ७ गते सोमबार दुई प्रधानमन्त्रीबिच एकल तथा प्रतिनिधिमण्डलसहितको दुई छुट्टाछुट्टै भेटवार्ता हुने तय भएको छ । उक्त ऐतिहासिक भेटवार्तामा दुई देशको सम्बन्धका समग्र आयाममाथि समीक्षा गरिने छ ।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारलाई लिएर भारत सरकारको उच्च चासो र आपसी सहकार्यमा काम गर्ने चाहना बढिरहेका बेला हुने वार्तालाई नेपाली जनतासहित सबै पक्षले महत्वका साथ प्रतीक्षा गरेका छन । भोटेकोशी विपत्पछिको पुनर्निर्माण र भावी सहकार्यका विषयमा भारतसँग गहन र परिणाममुखी छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहको सम्मानमा भारतका प्रधानमन्त्री मोदीले सोमबार औपचारिक दिवाभोजको आयोजना गर्नुहुने छ । सोमबारै प्रधानमन्त्री शाहको भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता हुने छ । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले पनि शिष्टाचार भेट गर्नुहुने कार्यसूची छ । दुई छिमेकी मुलुकबिच सम्पर्क ऊर्जा क्षेत्रमा लगानी सहकार्य, सम्पर्क सञ्जाल विस्तारलगायत भौतिक पूर्वाधारको भावी सहकार्यका बारेमा नयाँ सम्भावनाको खोजी र विगतमा अल्झिएका परियोजनालाई कार्यान्वयनमा लैजाने विषयमा पनि नयाँ सहमति र समझदारीको वातावरण यस भ्रमणले बनाउने अपेक्षा नेपाल सरकारले गरेको छ । जनकपुरदेखि अयोध्यासम्मको रेलवे सेवाको सामूहिक उद्घाटनसँगै अन्य केही परियोजनाको शिलान्यास हुने छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार मानव संसाधन विकास, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन, विकास साझेदारी, स्टार्टअपलगायतका क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ । नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री शाहले पुष्पहार चढाउनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित विमानबाट सोमबार साँझ १८स्३५ बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
