काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन्। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो। १५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो औपचारिक निम्ता दिएको थियो। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर हिजो सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए।
पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा. प्रकाश शरण महतले जानकारी दिए। पूर्वसभापति देउवालाई निम्तो आएछ उद्घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने, ‘मसँगको कुराकानीमा कुनै पनि उद्घाटन सत्रको निम्तो मान्न जाने कुरा भएको छैन। त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न।’
समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन। देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए। त्यसबेला महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा आएका थिए। तर जेनजी आन्दोलनपछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो। तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।
अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन्। तर, देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्। देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ।
