काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। निमन्त्रणा पाए पनि सबै दलका प्रमुख नेताहरू भने उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने भने स्वयं सहभागी हुने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। बुवाको निधनपछि बरखीमा रहेका कारण ओली उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। ओलीको स्थानमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन् र उनले कांग्रेस महाधिवेशनलाई शुभकामना मन्तव्य दिनेछन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुने भएका छन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले नै समारोहलाई सम्बोधन गर्नेछन्। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डको आजको कार्यतालिकामै कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम समावेश छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्। यता जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा उपस्थित नहुने भएका छन्। उनको सचिवालयका अनुसार यादवले सहअध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन जिम्मेवारी दिएका छन्।
