काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै समानान्तर अधिवेशनमा सहभागी हुन गरेका छन् । कांग्रेस संस्थापन इतर पक्षको आजदेखि सुरु भएको १५औँ महाधिवेशन अन्तर्गत वडा स्तरमा अधिवेशन सहभागी हुन देउवाले सभापतिकै हैसियतमा अपिल जारी गरेका हुन् ।
देउवाले देशभरका वडामा एकैसाथ सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई भव्य रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्। झन्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसका लागि यो महाधिवेशन निकै महत्त्वपूर्ण रहेको देउवाले उल्लेख गरेका छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको बलिदान, त्याग र सङ्घर्षलाई थप मजबुत बनाउन १५औँ महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्।
जारी अपिलमा देउवाले भनेका छन्, ुम तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
यस्तै, पार्टीभित्र रहेका आन्तरिक मतभेदहरूलाई १५औँ महाधिवेशन मार्फत समाधान गरी नेपाली कांग्रेसलाई थप मजबुत र एकढिक्का बनाउने प्रण समेत सभापति देउवाले व्यक्त गरेका छन्।
