काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चार वर्षभन्दा बढी समयको कार्यकाल पूरा गरी आज( बिहीबार ) स्वदेश फर्किँदैछन्। सन् २०२२ जुनमा नेपाल आएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन कूटनीतिक संवाद, विकास साझेदारी र आर्थिक सहकार्यलाई प्राथमिकता दिएका थिए।
कार्यकालको अन्तिम चरणमा श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र शाहसँग छुट्टाछुट्टै बिदाइ भेट गरेका छन्। भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।
राष्ट्रपति पौडेलसँगको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो। राष्ट्रपतिले श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धमा भएको सहकार्यका लागि धन्यवाद दिँदै आगामी जिम्मेवारीका लागि शुभकामना दिए ।
श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धमा ऊर्जा सहकार्य सबैभन्दा महत्वपूर्ण क्षेत्रमा रह्यो। नेपालबाट भारतमा ठूलो परिमाणमा विद्युत् निर्यात गर्ने बाटो खुल्नुका साथै दीर्घकालीन विद्युत् व्यापारको समझदारी अघि बढ्यो। भारत हुँदै बंगलादेशमा समेत नेपाली विद्युत् निर्यात सुरु हुनु दुई देशबीचको ऊर्जा सहकार्यको नयाँ उपलब्धिका रूपमा रह्यो।
ऊर्जा क्षेत्रमा प्रसारण लाइन निर्माण तथा विस्तार, जलविद्युत् आयोजनामा सहकार्य र विद्युत् व्यापारका विषयमा नियमित छलफल तथा उच्चस्तरीय संयन्त्रमार्फत काम अघि बढाइयो। यसले नेपाललाई विद्युत् उत्पादनबाट आम्दानी बढाउने तथा भारतलाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्ने वातावरण निर्माण गरेको छ।
उनको कार्यकालमा पेट्रोलियम पूर्वाधारमा पनि उल्लेख्य प्रगति भयो। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको विस्तार, चितवनसम्म पाइपलाइन पुर्याउने योजना तथा झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माणको प्रक्रिया अघि बढ्यो। पेट्रोलियम भण्डारण तथा वितरण पूर्वाधार विस्तारमा समेत भारतले सहयोग गर्दै आएको छ।
त्यस्तै, रेल तथा सीमापार पूर्वाधार विकासमा पनि सहकार्य अघि बढ्यो। जयनगर–कुर्था रेल सेवा विस्तार, विराटनगरसम्म कार्गो रेल सञ्चालन, एकीकृत जाँच चौकी तथा सीमापार व्यापारिक पूर्वाधार निर्माणले दुई देशबीचको आवागमन र व्यापारलाई थप सहज बनाउने आधार तयार गरेको छ।
श्रीवास्तवको कार्यकालमा बाढीपहिरो लगायतका प्राकृतिक विपद्का समयमा भारतबाट प्राप्त मानवीय तथा राहत सहयोगको समन्वयमा पनि दूतावास सक्रिय रह्यो। स्वास्थ्य, शिक्षा, खानेपानी, सडक तथा स्थानीय पूर्वाधारमा भारतको विकास साझेदारीअन्तर्गतका विभिन्न परियोजना पनि अघि बढेको छ ।
नेपाल–भारत सम्बन्धमा सीमा, व्यापार, जलस्रोत, हवाई रुटलगायतका संवेदनशील विषय रहँदै आएका छन्। यस्ता विषयमा सार्वजनिक विवादभन्दा नियमित संवाद र कूटनीतिक संयन्त्रमार्फत समाधान खोज्ने शैली श्रीवास्तवको कार्यकालको एउटा विशेषता रह्यो। नेपालमा रहँदा उनी विवादरहित कूटनीतिक भूमिकामा देखिए।
नेपालका राजनीतिक नेतृत्व, सरकारी निकाय र विभिन्न क्षेत्रका प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेर उनले दुई देशबीचको सम्बन्धलाई व्यवहारिक सहकार्यतर्फ अघि बढाउन जोड दिए। विशेषगरी ऊर्जा, पूर्वाधार र व्यापारका क्षेत्रमा देखिएको प्रगतिलाई उनको कार्यकालको महत्वपूर्ण पक्षका रूपमा लिन सकिन्छ।
