काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिइएको कार्यप्रति प्रश्न उठाएकी हुन्।
आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उनले उल्लेख गरिन्। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने उनले बताइन्।
अस्पतालमा उपचाराधीन बिरामी, त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै उनले प्रश्न गरेकी छन्। यो आफैँमा गम्भीर विषय बनेको उनले स्पष्ट पारिन्। मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन नसक्ने भन्दै सांसद बाँस्कोटाले यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्। मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनुपर्ने उनको भनाइ थियो।
यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले अस्पतालमा उपचाराधीन बिरामीहरूलाई अनावश्यक हैरानी नहोस् भन्नका लागि मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित बहुआयामिक विषयलाई समेटेर छिट्टै ‘मेडिकल नेग्लिजेन्स ऐन’ लागू गर्नुपर्ने बताइन्। आईसीयूमा बिरामीको संवेदनशीलता र सुरक्षाको प्रोटोकल कसरी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ।
